गृहपृष्ठ Featured आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

भाद्र २८, काठमाडौँ।

सत्ता गठबन्धन दल आगामी निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँटको चाँजो मिलाउन कसरत गरिरहेका छन् । कार्यदलमा महिना दिनसम्म छलफल गर्दा समेत त्यसबारे सहमति नबनेपछि ११ दिनदेखि शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । १२ औँ दिन मंगलबार पनि त्यसबारे छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार पनि दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । तर‚ चार बजे भने प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच बालुवाटारमा भेटवार्ताका लागि समय तय भइसकेको छ ।

देशभर प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । तीमध्ये गठबन्धनका पाँच दलले कसले कति सिट लिने भन्ने विषयमा तालमेलको प्रयास भइरहेको छ । तर‚ शीर्ष नेताहरू आफैँ सहमतिका लागि प्रयासरत भए पनि अहिलेसम्म सहमति जुटेको छैन ।

गठबन्धनमा दलहरुले २० साउनमै चुनावी तालमेल गर्ने र त्यसका लागि सिट बाँडफाँटको खाका बनाउन नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा नेताहरुले विभिन्न मोडेलमाथि छलफल गरेर त्यसको विवरण शीर्ष नेताहरूमाझ पेश गरिसकेका छन् ।

सम्बन्धित् समाचार