काठमाडौं ।
घरेलु मैदानमा जारी छैटौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ।
समूह ‘बी’को विजेता नेपालले समूह ‘ए’ को उपविजेता भारतलाई प्रतिद्वन्द्वी पाएको हो।
समूह चरणअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा बंगलादेशसँग ३–० हार बेहोरेपछि साविक विजेता भारत उपविजेता बनेको हो। तीन वर्षअघि विराटनगरमा भएको पाँचौं संस्करणको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो। भारतविरुद्ध प्रभावशाली जित निकाल्दै समूह विजेता बनेको बंगलादेशले भुटानको सामना गर्नेछ। सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछ। समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई ऐतिहासिक जित दिलाउन मोसामत सिरात जाहन सोप्नाले दुई तथा श्रीमोती सरकारले एक गोल गरे। महिला साफ च्याम्पियनसिपमा भारतले पहिलो पटक हार बेहोरेको हो। यसअघिका पाँच वटै संस्करणको उपाधि विजेता भारतले च्याम्पियनसिपमा अहिलेसम्म कुनै टोलीसँग पनि हार बेहोरेको थिएन।
खेलको १२औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसपछि सरकारले २२औं मिनेटमा गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाइन्। पहिलो हाफमा २–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफको ५३औं मिनेटमा ३–० को अग्रता बनाएको थियो। सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ऐतिहासिक जित दिलाएकी थिइन्।
जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ। समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा तीन खेलमा नौ अंक जोडेको छ। भारतले तीन खेलमा ६ अंक मात्रै जोड्न सक्यो।
मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोलले हरायो। च्याम्पियनसिपको समूह चरणबाट बाहिरिसकेका दुई टोलीबीच दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई जित दिलाउन नादिया खानले चार गोल गरिन्। यस्तै रामिन फरिद, खादिजा काज्मी र अनमुल हिराले एक-एक गोलको योगदान गरे।
अन्तर्राष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको पाकिस्तानले च्याम्पियनसिपमा सुखद् अन्त्य गरेको छ। समूह ‘ए’ को पाकिस्तानले तीन खेलमा तीन अंक जोडेको छ। माल्दिभ्स भने जितविहीन बन्दै घर फर्किएको छ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ।








