काठमाडौं ।
तुलनात्मक रूपमा कमजोर मानिएको भुटानसँग पराजित हुँदै एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा खराब सुरुआत गरेको नेपालले आज तेस्रो खेलमा आयोजक बहराइनसित प्रतिस्पर्धा गर्दै छ ।
समूह ‘बी’मा नेपाल पहिलो अंकको खोजीमा छ । पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो । अंकविहीन नेपाल समूहको पुछारमा छ । नेपालभन्दा एक स्थान माथि रहेको बहराइनले एक अंक जोडेको छ ।
बहराइनले एक खेल मात्र खेलेको छ । पहिलो खेलमा बहराइन बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । बंगलादेश चार अंकका साथ शीर्ष स्थानमा छ ।
समूह ‘बी’मै आज कतार र भुटानले प्रतिस्पर्धा गर्दै छन् । अल मुहारक रंगशालामा नेपालले बहराइनविरुद्ध नेपाली समयानुसार ११ः४५ बजे खेल्नेछ । त्यसअघि, ८ः४५ बजे कतार र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।








