वैखरी अनलाईन, बाणगंगा ।
आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको गृहकार्य दिनँहु जसो भईरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा चलिरहेको छ । यद्यपि केही क्षेत्रमा गठबन्धनभित्रकै नेता व्यवस्थापनमा समस्या देखिने भएको छ ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण धेरै क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो बलियो प्रभावका बाबजुद हार व्यहोरेको थियो । त्यस्ता क्षेत्रमा अहिले गठबन्धनबीच भागबण्डा मिलाउन ठुलो चुनौती हुने देखिएको छ ।
कपिलवस्तुवाट पटकपटक चुनाव जितेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसमा नेता दीपकुमार उपाध्याय अहिले पनि टिकट पाउँने सम्भावना बलियो देखिएको छ । उनको नाम नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको लागी उम्मेद्वारको नाम सिफारिस गरि सकेको छ । उनले आफुले टिकट पाउनका लागी कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट गरेको स्रोतको दाबी छ ।
यसअघिको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ विजयी भएका थिए । अघिल्लो निर्वाचनमा जितेकै आधारमा माओवादी केन्द्रका खनालले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिने भएमा काँग्रेस नेता उपाध्यायले आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पाउने छैनन् ।
सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रका खनाल र काँग्रेसका उपाध्यायमध्ये कसलाई कपिलवस्तु–१ मा उम्मेदवार बनाउने भन्नेबारे रस्साकस्सी नै पर्ने देखिएको छ । किनकि आ–आफ्नो पार्टीमा दुवै राम्रो प्रभाव भएका नेता मानिन्छन् ।
दीपकुमार उपाध्याय कपिलवस्तुमा काँग्रेसको छुट्टै ‘ब्रान्ड’ मानिन्छन् । २०३० सालमा तत्कालीन हथौसा गाउँको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा सुरु गरेका उपाध्याय पटकपटक सांसद बनिसकेका छन् । उनी संघीय सरकारमा पनि सामेल भइसकेका छन् । पछिल्लो समय उनी भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए ।
उपाध्यायले २०४८ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. २ बाट राप्रपाका भगवानदास गुप्तालाई पराजित गरेका थिए । ०५१ सालको निर्वाचनमा पनि उपाध्यायले सोही क्षेत्रबाट फेरि गुप्तालाई नै पराजित गरे ।
०५६ को निर्वाचनमा भने बृजेश कुमार गुप्ताले उपाध्यायलाई पराजित गरे । पछि निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । २०७० सालमा उनी सो क्षेत्रमा एमालेका बलराम अधिकारीसँग पराजित भए । २०७४ सालमा वाम गठबन्धनबाट माओवादीका चक्रपाणि खनालले उनलाई पराजित गरे । खनालले २९ हजार ६९३ मत पाउँदा उपाध्यायले २८ हजार ७४७ मत ल्याएका थिए ।
वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणाम हेर्दा यो क्षेत्रमा नेपाली काँग्रेस नै अगाडि छ । यो क्षेत्रमा काँग्रेसका वडा अध्यक्षहरूले २८ हजार २७१ मत पाएका छन् भने एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादीले ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीले ३ हजार ७२२, लोसपाले ३ हजार ४२४, राप्रपाले २ हजार ४८० पाएका छन् ।
यस आधारमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो देखिन्छ । स्थानीय तहको चुनावमा बलदेवले गठबन्धन गर्न भूमिका नखेलेको तथा गठबन्धनका उम्मेदवारलाई जिताउन पनि सक्रियता नदेखाएका कारण उनीसंग माओवादी बाहेका सतारुढ गठबन्धनका नेता तथा कार्यकर्ता रुष्ट छन् । यद्यपी माओवादी केन्द्रका नेताहरुले भने खनाललाई नै गठबन्धनको साझाँ उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
अहिले खनाल र उपाध्यायमध्ये कसलाई सो क्षेत्रमा उम्मेदवार बनाउने भन्नेबारे सत्तारुढ गठबन्धनले निर्णय लिन बाँकी छ ।








