गृहपृष्ठ Featured १७४ मध्ये चोलेन्द्र शमशेरले ४५ पेजमा हस्ताक्षर गरे

१७४ मध्ये चोलेन्द्र शमशेरले ४५ पेजमा हस्ताक्षर गरे

काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आफ्नो बयानको १७४ पृष्ठमध्ये ४५ पेजमा हस्ताक्षर गरेका छन् । महाअभियोग सिफारिस समितिको सचिवालयले उनको बयानको ‘भर्वेटिङ’ उतार्दा १७४ पेज भएको छ ।

चोलेन्द्र शमशेरले आफूले दिएको बयानमा हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने भएकाले उनलाई बिहानैदेखि बोलाइएको छ ।

तर, उनले बयान पढेर सुनाउन आग्रह गर्दै कतिपय भनाइ सच्याउँदै हस्ताक्षर गरिरहेका छन् । त्यसैले उनको बयान प्रमाणित गर्नलाई नै समय लागिरहेको छ ।

“अहिलेसम्म बल्ल ४५ पेजमा हस्ताक्षर भएको छ । अझै १२९ पेज पढ्न बाँकी छ,” समितिका एक सदस्यले भने, “पढेर सुनाइसकेपछि उहाँले शब्द सच्याउने, भनाइको आसय गलत भएको जस्ता कुरा गरेर सच्याउँदै ढिलाई हुनेगरी प्रमाणित गरिरहनु भएको छ ।” ती सदस्यका अनुसार सचिवालयले राणाले भनेकै भनाइ अक्षरमा उतारे पनि उनले भनाइको आसय त्यसो नभएको भन्दै सच्याइरहेका छन् ।

समितिले राणाको भनाइका आधारमा प्रतिवेदन भने अन्तिम चरणमा पुर्याइसकेको छ । जवराले बयान प्रमाणित गरे आजै वा भोलि बिहान सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिको तयारी छ । यो संसदको अन्तिम बैठक शनिबार नै बस्ने तय भएकाले प्रतिवेदन संसद्मा प्रस्तुत हुने वा नहुने विषय भने टुंगो लागिसकेको छैन ।

जवराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा छन् । लामो समय छानबिन नभएपछि संसद्मा र बाहिर पनि प्रश्न उठेको थियो । गत साउन २५ मा भने महाअभियोगमा थप छलफल भएर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो । समितिले एक महिनाभित्रै प्रतिवेदन बुझाउने तयारी गरे पनि काम गर्दै जाँदा सम्भव नभएको समितिका सदस्य तथा कांग्रेस प्रमुख सचेतक मीन विश्वकर्माले जानकारी दिए । तर, समितिले प्रतिवेदन भने यो संसद् जारी रहँदै बुझाउन लागेको जानकारी दिए ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका समितिका सदस्य विष्णु पौडेलले २४ घण्टा काम गरेर भए पनि प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिए ।

सम्बन्धित् समाचार