बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ त्याग, तपस्या र बलिदानबाट मात्रै प्राप्त भएको उल्लेख गर्दै लुम्बिनी प्रदेश संविधान प्राप्तिको प्रमुख हकदार भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजित संविधान दिवस २०७९ लाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले नेपालको सबैभन्दा बढी बलिदान, त्याग, तपस्या गरेको प्रदेश भएकोले गणतन्त्र र संविधान प्राप्तिको प्रमुख हकदार लुम्बिनी रहेको प्रस्ट्याएका हुन् ।
“संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो,” उनले भने, “नेपालको सबैभन्दा बढी बलिदान, त्याग, तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तिको प्रमुख हक दाबी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ ।”
उनले लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि बलिदान गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तिनै सहिदहरुको बलिदानबाट प्राप्त यो संघीयता, गणतन्त्रलाई बचाउनको लागि लुम्बिनी प्रदेशबाट खबरदारी गर्नका लागि अपिलसमेत गरे ।
मुख्यमन्त्री केसीले संविधानको कार्यान्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुुपर्ने बताए । उनले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विरोधीहरुले नेपालको दुईपटक संविधान विगठन गरेको बताउँदै त्यस्ता प्रविृत्तिलाई राज्यले चिन्नुपर्ने बताए ।
उनले लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकालमा नमूना कार्य गरेको बताउँदै त्यसका लागि सबै आगामी दिनमा पनि अग्रसर हुने र प्रदेशबासी जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनी प्रदेशको गौरवको आयोजना प्रदेशको राजधानी, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा–रामपुर–रोल्पा सडक निर्माण र लुम्बिनी विश्व विद्यालय स्थापना गरिसकेको बताए ।
लुम्बिनीलाई नयाँ विकास र सही ढंगले अगाडि बढाउन सक्ने गरी अगाडि बढेको बताउँदै आगामी दिनमा पनि प्रदेशको विकासका लागि सबै अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।