गृहपृष्ठ Featured कपिलवस्तुका अग्रज पत्रकार पौडेललाई दंगिशरण बलिहाङ तृतीय पदक

कपिलवस्तुका अग्रज पत्रकार पौडेललाई दंगिशरण बलिहाङ तृतीय पदक

वैखरी अनलाईन, बाणगंगा ।

अग्रज पत्रकार मनोज पौडेल दंगिशरण बलिहाङ तृतीय पदकबाट विभूषित हुने भएका छन् । लुम्बिनी प्रदेश सरकारले ८औं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजना गरेको एक समारोहका बीच पत्रकार पौडेललाई उक्त पदकबाट विभूषित गर्ने घोषणा गरेको हो ।

लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन महिनामा बालुबाङ हुने बृहत कार्यक्रममा पौडेल विभूषित हुने छन् ।
नेपालमा वातावरण, वन्यजन्तु, सिमसार संरक्षण, जैविक विविधताका क्षेत्रमा कलम चलाएर उनी यो पदकबाट विभूषित हुने भएका हुन् ।

पत्रकार महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका पौडेल विगत तीन दशक बढिदेखि सक्रिय रही पत्रकारीता जगतमा छुट्टै छवि स्थापित गर्न सफल छन् । ४५ बर्षीय पौडेलले पर्यापर्यटन, बुद्ध तथा शान्ति पर्यटन, सामाजिक, आर्थिक, न्यायको क्षेत्रमा पत्रकारितामार्फत सशक्त कलम चलाउँदै आएका छन् ।

उनले चरा तथा बन्यजन्तुहरुको उत्कृष्ट फोटो खिचेर चर्चा कमाउँदै आएका छन् । पौडेलले यो पदकले आफुलाई आफ्नो पत्रकारिता पेसालाई थप सशक्त बनाएर अघि बढ्ने हौसला मिलेको बताएका छन् । पौडेल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।

पौडेल कान्तिपुर दैनिकका उपसम्पादक तथा कान्तिपुर टेलिभिजनका जिल्ला संवादाता हुन् ।

सम्बन्धित् समाचार