गृहपृष्ठ Featured नवौँ राष्ट्रिय खेलकुद : कपिलवस्तुका दुईसहित लुम्बिनीबाट छानिए ब्याडमिन्टनका १२ खेलाडी

नवौँ राष्ट्रिय खेलकुद : कपिलवस्तुका दुईसहित लुम्बिनीबाट छानिए ब्याडमिन्टनका १२ खेलाडी

भैरहवा ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ब्याडमिन्टन खेलाडीहरू छनोट गरिएको छ।

भैरहवा ब्याडमिन्टन क्लबको हलमा आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन छनोट प्रतियोगितामा १२ जना खेलाडीहरूलाई छनोट गरिएको प्रतियोगिताका कोर्डिनेटर दिपेन्द्रमान श्रेष्ठले जानकारी दिए। जसमध्ये सात पुरुष र पाँच जना महिला छन्।

उनका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशबाट ४७ जना पुरुष र २८ जना महिला गरी ७५ जना ब्याडमिन्टनका खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगिता दुई दिन आयोजना गरिएको थियो।

‘प्रतियोगितामा सहभागी ७५ जना खेलाडीमध्ये १२ जना छनोट भएका छन्’ कोर्डिनेटर श्रेष्ठले भने, ‘अब यी खेलाडीहरू पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन्।’

प्रतियोगितामा पुरुषतर्फ पाल्पाका गणेश रायमाझी, कपिलवस्तुका राज वर्मा, बाँकेका इरफान अन्सारी, रियाज अन्सारी, सरोज अन्सारी, गुल्मीका मनोज फौदार, रुपन्देहीका विश्वास नेपाल छनोट भएको अम्पायर जीवन थापाले बताए। त्यस्तै वैकल्पिकतर्फ दाङका सुरज गुप्ता परेका छन्।

यस्तै महिलातर्फ बाँकेको सुष्मा श्रेष्ठ, रुपन्देहीको पूजा विष्ट, पाल्पाको दिया शाक्य, सुष्मा बुढा, कपिलवस्तुको सुन्दरी थारु छनोट भएका छन् भने वैकल्पिकमा रुपन्देहीको स्मिता बडुवाल रहेको अम्पायर थापाले बताए।

छनोट भएका खेलाडीहरू नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै ब्याडमिन्टन खेल प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए।

सम्बन्धित् समाचार