नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनको अहंकारको हिसाबकिताब जनताले आगामी ४ मंसिरको निर्वाचनबाट गर्ने चेतावनी दिएका छन्।
राष्ट्रपतिको सुझावलाई लत्याएर अनधिकृत ठाउँमा अनाडी व्यक्तिहरू बसेर नागरिकता विधेयक बहुमतको बलमा पारित गर्ने निर्णय गरेको भन्दै ओलीले त्यस्तो अहंकारको हिसाबकिताब जनताले गर्ने चेतावनी दिएका हुन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धन सरकारले विवेक र संयमता गुमाएर राष्ट्र र जनताको हितविपरीत मसल्सको भाषा बोलिरहेको उनको आरोप थियो।
गठबन्धनले राष्ट्रपति संस्थाको अपमान गर्नुलाई नै महानता ठानिरहेको भन्दै ओलीले गठबन्धनले संविधानको धारा १८१ उल्लंघन गरेको दाबी गरे।









