सागर वि.क., वैखरी अनलाईन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ बजेट कार्यान्वयनमा अब्बल देखिएको छ । गत आर्थिक बर्ष २०७८/७९ को बार्षिक समिक्षामा गर्दा वडा नम्बर १४ अब्बल देखिएको हो ।
वडाका २७ र नगरका ३३ वटा योजनाहरु समयमै पुरा गरि वडा नम्बर १४ अन्य वडा भन्दा अब्बल रहेको सावित गर्न सफल भएको वडाध्यक्ष दामोदर न्यौपानेले बताए । वडावासी चाहाना अनुसार आफुले काम गर्दै आएको दाबी वडाध्यक्ष न्यौपानेको भनाई छ । वास्तविकता बुझेर मात्र विरोध गर्नुपर्ने बताउँदै उनले वडाको विकासमा अनावश्यक राजनिति नगर्न आग्रह समेत गरे । एक अर्कोमा दोषारोपण गर्ने बानीले विकास निर्माणका काम सही ढङगले अघि बढ्न नसक्ने उनले बताए ।
आफुले काम गर्ने समयमा सबैको रचनात्मक सल्लाह एवम् सुझाव प्राप्त भएको बताउँदै उनले ती सहल्लाहरुलाई मनन गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए । वडाले गत आर्थिक बर्षमा शिक्षा विकासतर्फ ३ लाख, कृषि विकास कार्यक्रमतर्फ ६ लाख, पशुविकास कार्यक्रमतर्फ ४ लाख, स्वास्थ्यतर्फ २ लाख ५० हजार र समावेशी कार्यक्रमतर्फ २ लाख ५० हजार रुपैयाँ खर्च गरेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेलले शितगंगाको विकासका लागी सबै एकजुट हुनुको विकल्प नभएको बताएका छन् । विभिन्न राजनितिक पार्टीका व्यक्ति तथा संस्थामा आवद्ध भएता पनि यस नगरको विकासका लागी सबै एकजुट हुनुको विकल्प नभएको मेयर पौडेलको भनाई छ ।
शुक्रबार शितगंगा नगरपालिका वडा नम्बर १४ मा सम्पन्न गत आर्थिक बर्षको बार्षिक समिक्षा तथा चालु आर्थिक बर्षको योजना तथा बजेट सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भौगोलिक विकटताले यस नगरपालिकाको विकासमा बाधा ल्याएता पनि यसैमा विभिन्न अवसरहरुको खोजी गरि विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने उनले बताए । नगरमा नेकपा एमालेका जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाएको उनले आरोप छ । उनले शिक्षा क्षेत्रलाई अगाडि बढाउन विभिन्न निकायहरुसंग आफुले छलफल गरेको बताए ।
शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले शिक्षाको गुणस्तरियता नगरको पहिलो प्राथमिकता रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागी थप स्वास्थ्य कर्मीको व्यवस्था गर्ने दिशातर्फ नगर अगाडि बढेको बताए ।
सहरकारीहरुलाई केही दिनभित्रै अनुदानमा आधारित रकम उपलब्ध गराउने उनले जानकारी दिए । आन्तरिक आम्दानी वृद्धि गर्ने योजनाका साथ नगर अघि बढेको उनको भनाई छ । नगरपालिकाले मदिरालाई ब्रान्डिङ गर्ने, होमस्टे संचालन, पर्यटन प्रवर्धनतर्फ जोड दिएको उनले बताए ।