अघिल्लो शुक्रबार बिहान ६ः४५ बजे कुवेतबाट आएको जजिरा एयरवेजको न्यारोबडी ‘एयरबस–३२०’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा अवतरण ग¥यो । जहाजमा आएका एक सय ५९ यात्रुहरू एकपछि अर्को गरी झरेर अराइभल कक्षतर्फ लागे । जहाजका यात्रु करिब आधा मात्र प्रवेश गर्दा पनि अराइभल कक्ष पूरै भरियो । अन्य यात्रु सिमसिम परिरहेको पानीमै एप्रोन एरियाबाटै लाइन लाग्नुप¥यो । दुबईबाट भैरहवा हुँदै घर फर्किएका बुटवल सुक्खानगरका दिलबहादुर थापा भन्दै थिए, ‘एउटा जहाजका यात्रुहरू पनि नअटाउने कति साँघुरो टर्मिनल ?’
अराइभल कक्षको हेल्थ डेस्क, अध्यागमन, ब्यागेज बेल्ट, ब्यागेज क्लेम कक्ष, भन्सारमा पर्याप्त संरचना र कर्मचारी नहुँदा पनि सास्ती पाएको यात्रुहरू गुनासो गर्दै थिए । भन्सारमा रहेको एक्सरे मेसिन वेला–वेलामा बिग्रिरहँदा झोला खोतलेर चेकजाँच गर्नुपर्ने बाध्यता छ ।
विमानस्थलको डिपार्चर कक्षले पनि एकैपटक दुईवटा फ्लाइटका यात्रु थेग्न नसक्ने अवस्था छ । बोर्डिङ पास लिएपछि जहाज कुरेर बस्न पर्याप्त सिट छैनन् । दुइटा फ्लाइट एउटै समयमा भयो भने सेवा प्रवाहमा अलिकति ‘टाइट’ हुने विमानस्थलका प्रवक्ता सुवास झाले पनि स्वीकार गरे । नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा पनि इक्विपमेन्ट र जनशक्तिको अभाव छ । तर, उडान थपिनेबित्तिकै इक्विपमेन्ट र जनशक्ति थप्ने निगमले प्रतिबद्धता जनाएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
विमानस्थलमा एउटा वाइडबडीसहित पाँचवटा जहाज पार्किङ गर्न मिल्छ । तर, टर्मिनल भवन भने एउटा उडान मात्र धान्न सक्ने बनाइएको छ । ‘हरेक घन्टामा उडान–अवतरण भए दिनको ३० वटासम्म फ्लाइट पनि धान्न सकिन्छ,’ प्रवक्ता झाले भने, ‘अहिलेकै संरचनाले एकैपटक दुईवटा फ्लाइट व्यवस्थापन गर्न धौ–धौ पर्छ ।’
किन साँघुरो भयो टर्मिनल ?
भैरहवामा पनि फोरडी मापदण्डकै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारीका साथ डिजाइन तयार गरिएको थियो । तर, पछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयमा सरकार पुग्यो । क्यानले विमानस्थलको धावनमार्ग ठूलो बनाए पनि टर्मिनल भवन भने फोरडी मापदण्डकै बनायो । ‘ठूलो टर्मिनल बनाउन अहिलेको आन्तरिक टर्मिनल भत्काउनुपथ्र्यो, त्यसो गर्दा आन्तरिक उडान अवरुद्ध हुन्थ्यो,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘अहिलेको टर्मिनललाई आन्तरिक बनाउने र अर्को एरोब्रिजसहितको सुविधासम्पन्न टर्मिनल बनाउने निष्कर्षमा पुगिएको हो ।’ अहिलेको आन्तरिक टर्मिनल साँघुरो र पुरानो भइसकेकाले नयाँ बनाउनैपर्ने थियो ।
क्षेत्रीयबाट अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा जाँदा टर्मिनल भवन सानो बनेको क्यानको स्पष्टोक्ति छ । तर, ३१ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा सरकारले दीर्घकालीन सोच नराखेको विज्ञको आरोप छ । अहिलेकै टर्मिनललाई कम्तीमा तीनवटासम्म उडान थेग्न सक्ने गरी बनाउनुपर्ने थियो ।
क्यानले १४ अर्ब खर्चिएर पाँचवटा एरोब्रिजसहितको अर्को टर्मिनल बनाउँदै छ । तर, विमानस्थल राम्ररी चल्ने सुनिश्चितता नहुँदै टर्मिनलमा ठूलो लगानी गर्नु अर्को अदूरदर्शी कदम हुने विज्ञको तर्क छ ।
महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पनि लाभहानिको तुलनात्मक विश्लेषण गरेर मात्रै अर्को टर्मिनल भवन बनाउन सुझाव दिएको छ ।








