गृहपृष्ठ Featured विवेकशील साझाका लुम्बिनी प्रदेश संयोजकसहित ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

विवेकशील साझाका लुम्बिनी प्रदेश संयोजकसहित ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं, असोज १६ ।

विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन्। शनिबार दुई वटा विज्ञप्ति जारी गर्दै ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा बुझाएका हुन्।

पार्टीका पूर्व अध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि र केन्द्रीय समितिको दुई तिहाइले पारित गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।

लुम्बिनीका प्रदेश संयोजक अनुपमान सैजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रदेश तथा केन्द्रीय सदस्य हरिकृष्ण अधिकारी, महिला विभाग प्रमुख सरस्वती पन्थी भुषाललगायतले राजीनामा दिएका छन्।

यस्तै गण्डकीका प्रदेश संयोजक शुसिला केसी अधिकारी, केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, अर्जुन खनाल र हरिप्रसाद गौतमले राजीनामा दिएका हुन्।

 

सम्बन्धित् समाचार