गृहपृष्ठ Featured महरेज पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो सिटी

महरेज पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो सिटी

काठमाडौं ।

रियाद महरेज पेनाल्टीमा गोल गर्न चुक्दा १० खेलाडीमा सीमित बनेको म्यानचेस्टर सिटीले मंगलबार राति च्याम्पियन्स लिगमा कोपेनहेगनसँग गोलरहित बराबरी खेलेको छ ।

बराबरीका बाबजुद पेप ग्वार्डिओलाको सिटीले अन्तिम–१६ स्थान पक्का गरेको छ । सिटी रहेको समूह ‘जी’मा सेभिया र बोरुसिया डर्टमण्डले पनि १–१ को बराबरी खेलेपछि इङ्लिस क्लबले अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

गएराति भिडियो सहायक रेफ्री (भीएआर)को निर्णय हाबी बनेको थियो । ११ औँ मिनेटमा सिटीका रोड्रीले गरेको गोललाई भीएआरले मान्यता दिएन । गोल अगाडि फाउल भएको भन्दै भीएआरले उक्त गोललाई मान्यता दिएन ।

२५ औँ मिनेटमा भीएआरकै साहयतामा रेफ्री अर्थर डियाजले सिटीलाई पेनाल्टी अवसर दिएका थिए । सिटीका म्यानुयल अकान्जीको कर्नरलाई कोपेनहेगनका रक्षक निकोलाई बोइलेसेनले क्लियर गर्न खोज्दा हातले छोएको भन्दै पेनाल्टी दिइएको थियो ।

तर, उक्त पेनाल्टी अवसरमा महरेज गोल गर्न चुके । महरेजको प्रहारलाई कोपेनहेगनका गोलकिपर कामिल ग्राबराले बचाइदिएका थिए । त्यसको पाँच मिनेट बित्न नपाउँदै सर्जियो गोमेजले रातो कार्डको सामना गरेपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो । कोपेनहेगनका १९ वर्षे फरवार्डलाई फाउल गरेपछि रेफ्री डियाजले भीएआरको सहयोगमा गोमेजलाई रातो कार्डको दर्शन गराएका थिए ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले फरवार्ड इर्लिङ ब्राउट हालान्डलाई बेन्चमा राखेका थिए । अघिल्लो खेलमा सिटीले कोपेनहेगनलाई ५–० ले हराउँदा हालान्डले दुई गोल गरेका थिए । सिटीले अब इङ्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध खेल्दै छ । त्यसकारण ग्वार्डिओलाले हालान्डलाई आरम दिएका हुन् ।

‘‘हालान्डले साउथह्याम्पटनविरुद्ध पनि पूरै समय खेलेका थिए । उनी थकित छन् । त्यसकारण हालान्डलाई आराम दिइएको हो,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘हिजोसम्म उनको अवस्था खराब थियो । आज केही सुधार भएको छ । तर, पूर्ण रुपमा ठिक नभएका कारण हामीले जोखिम लिएनौँ ।’’

यससँगै सिटीको लगातार ६ खेलसम्मको विजयी यात्रामा पनि पूर्णविराम लागेको छ ।

सम्बन्धित् समाचार