काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने बताएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पार्टी नछोड्ने बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अछाममा टिकट नदिएपछि रावल असन्तुष्ट बनेका थिए।
पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिवद्ध उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए। रावलले भने,‘एमालेमा होलिवाइनलाई पनि उम्मेदवार बनाइएको छ। एमालेभित्रै संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु। जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनुपरेको छ, थियो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु। अनि कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु ? भन्नुस् त।’
उनले आफू सधैं न्यायको पक्षमा लड्ने मान्छे भएको र पार्टी भित्र नै संघर्ष गरी योग्य उम्मेदवारलाई जिताउन लागी पर्ने बताए।
पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताए। रावलले भने, ‘यो सामुहिक नेतृत्व, भावना तथा मार्क्सवादी दर्शनको आलोकमा नेपालको संविधानद्वारा निर्दिष्ट उद्देश्य हासिल गर्न क्रियाशील रही देश र जनताको हितमा काम गर्नुपर्ने संगठन हो।’








