सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज नगर्न अल्पकलीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भर श्रेष्ठले आज त्यसमाथि अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी हुने नहुनेसम्बन्धमा छलफल गर्न २ कात्तिकमा पेशी तोकी दुवै पक्षलाई बोलाएको छ ।
साथै, उम्मेदवारी खारेज गर्ने निर्णयका सक्कल फाइलहरूसहित उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको छ ।
निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । उनी सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थिए । आयोगले उम्मेदवारी खारेजी गरेपछि गुरुङले सर्वोच्च अदालतमा आयोगको फैसला त्रुटिपूर्ण रहेको भन्दै खारेजी माग्दै रिट दिएका थिए ।
आयोगले राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत खारेज गरेको थियो । खारेजीमा परेका डा. कमल भुसालको पनि रिट सोही इजलासमा सुनुवाइका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।










