बुटवल–नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको काम थालेको ३ वर्ष कटेको छ। सम्झौता अवधि सकिएर म्याद थप गर्दा समेत उसले जम्मा १८ प्रतिशतको हाराहारीमा मात्र काम सकेको छ।
एकातिर सडक अलपत्र छ, अर्कोतिर सडक धुलाम्य र खाल्डाखुल्डी भएर यात्रुलाई समेत सास्ती हुने गरेको छ। अर्कोतर्फ सरकारले चाइना स्टेट कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।
बुटवल–नारायणगढ सडकखण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले सप्लायर्स कम्पनीहरूलाई ६० करोड बढी भुक्तान नदिएको भन्दै आइतबार कम्पनीको कार्यालयअगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले ९ महिनादेखि भुक्तान नपाएको भन्दै धर्ना दिएका हुन्।
बुटवल नारायणगढ सडक खण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले विभिन्न सप्लायर्स कम्पनीहरूलाई ९ महिनादेखि गरी ६० करोड बढी भुक्तान नदिएपछि सप्लायर्स कम्पनीका सञ्चालक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले आइतबार आजदेखि कावासोती नगरपालिका- १० मगरकोटनजिक रहेको कम्पनीको कार्यालयअगाडि धर्ना सुरु गरेका छन्। उनीहरूले नेपाली र चाइनिज भाषामा ब्यानरसहित धर्ना दिएका हुन्।
उनीहरूले ६० करोड बढी रकम भुक्तान पाउन बाँकी रहेको आन्दोलनमा सहभागी नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावगीले बताए। उनले आफूहरूले पाउनुपर्ने रकम तत्काल नपाए धर्नामा बसिरहनुको विकल्प नभएको चेतावनी दिए।
कम्पनीले माग गर्नासाथ आफूहरूले कुनै पनि काम नरोकियोस् भनेर रड, सिमेन्ट, गिटीलगायतका निर्माण सामग्रीदेखि निर्माण उपकरणहरू रोलर, टिपर, एक्साभेटरलगायतका उपकरण तत्काल उपलब्ध गराएको भए पनि अहिले निर्माण कम्पनीले लामो समयदेखि भुक्तान नदिएर आफूहरूलाई अप्ठेरामा पारेका सप्लायर्स कम्पनीका कर्मचारी एवं प्रतितिधिहरूले गुनासो गरेका छन्।








