दाङ क्षेत्र नं १ अर्थात् देउखुरी थारू बाहुल क्षेत्रको रुपमा चिनिन्छ। स्थानीय निर्वाचनकै तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रका जन प्रतिनिधिहरू अधिकांश थारू समुदायका छन्। आसन्न निर्वाचनको प्रतिनिधिसभातर्फ थारू समुदायकै नेताहरू एकअर्काका प्रतिस्पर्धी बनेका छन्। सबैभन्दा रोचक कुरा त एकै पार्टीमा कुनै बेला सहकर्मी रहेका नेताहरू नै एकआपसमा भिडिरहेका छन्।
अघिल्लो निर्वाचनमा यही क्षेत्रमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र एमालेबाटै विद्रोह गरेकी गंगा सत्गौंवा चौधरी स्वतन्त्रबाट प्रतिस्पर्धी बनेका छन्। चुनावी अभियानमा जुटिरहेका तीनै नेताहरूले आफू जित्ने दाबी गरिरहेका छन्।
केपी ओलीको प्रतिगमनविरुद्ध गठबन्धन जसरी पनि विजयी हुने मेटमणिको आँकलन छ भने गठबन्धनलाई परास्त गर्न एमालेको जित सुनिश्चित रहेको शान्ता दाबी गर्छिन्। गंगाले भने आफू राष्ट्रियताका लागि लडेको भन्दै आफ्नो जित हुने दाबी गरेकी छन्।
तीन पूर्वसहकर्मीहरुले यस्तो दाबी गर्दैगर्दा सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले सबैले चुनौती दिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार छन्- सुरेन्द्र चौधरी।
वैकल्पिक शक्ति निर्माण अभियानमा जुटेका सुरेन्द्र चौधरी टीकापुर राजबन्दी रिहाई अभियानको अगुवाई समेत गरेका थिए। कुनै बेला नेपाली कांग्रेसको विद्यार्थी संगठनमा रहेर काम गरेका उनले सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानमा जुटिरहेका छन्।
देशका साशकहरुले थारु समुदायलाई हरेक तवरबाट कमैया बनाएको भन्दै उनले राजनीतिक गुलामीबाट माथि उठ्न थारुहरूलाई आह्वान गरेका छन्। सम्पूर्ण थारुहरूलाई नागरिक उन्मुक्ति पार्टीबाट आफ्नो माग र एजेण्डा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
‘यो देशका साशकहरुले थारु समुदायलाई कमैयामात्र बनाइरह्यो। त्यो चाहे घरखेतमा काम गराए होस् या राजनीतिकरुपमा किन नहोस्, थारु नेताहरु अहिले पनि गुलामीबाहेक केही गरेका छैनन्। गरेका हुन् भने थारूले आफ्नो राज्य किन पाएन? यो देशका निकायहरुमा थारूको उपस्थित किन समावेशी छैन?,’ उनी प्रश्न गर्छन्।








