आश्विन ३१, पोखरा ।
नवौं राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका धावक दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाले ८ मिनेट ५५ दशमलब १९ सेकेन्डबाट जितेको पदक नवौं राष्ट्रियमा कर्णालीको पहिलो स्वर्ण हो ।
दुर्गाले स्वर्ण पदकसँगै राष्ट्रिय कीर्तिमान पनि बनाएका छन् । उनले राजेन्द्र भण्डारीको नाममा रहेको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको समयलाई उछिनेका हुन् । राजेन्द्रले सन् २००४ को इस्लामाबाद सागमा उक्त कीर्तिमान राखेका थिए ।
एपीएफका अजित यादवले ९ मिनेट २१ दशमलव १० सेकेन्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२ दशमलव १५ सेकेन्डसहित कास्य जितेका छन् ।
दुर्गाविरुद्ध खेल्नुअगाडि नै प्रोटेस्ट दर्ता भएको थियो । तीन विभागीय टिम (एपीएफ, आर्मी र पुलिस) र गण्डकी प्रदेशले संयुक्त रुपमा प्रोटेस्ट दर्ता गराएको थियो । जुम्लाका धावक दुर्गाले राष्ट्रिय प्रतियोगितामा सहभागिता गर्ने तर अन्तर्राष्ट्रिय प्रतियोगितामा देशमा प्रतिनिधित्त्व गराउँदा उपलब्ध हुन नसक्ने धाबकको सहभागिता खारेज गर्नुपर्ने मागसहित चार टिमले प्रोटेस्ट दर्ता गराएको हो । उनी भारतीय सेनाका जागिरे हुन् । उनले भारतीय टिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता र एसियन च्याम्पियनसिप समेत खेलेका थिए ।
सीमित साधन स्रोतबाट तयारी गरेर राष्ट्रिय आफ्नो क्षमता प्रदर्शन गर्ने खेलाडीलाई हतोत्साहित पार्ने भएकाले उनको सहभागिता खारेज उजुरीकर्ता टिमहरुको माग थियो ।








