काठमाडौं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकको बन्दसूचीमा नाम भएका ५५० जना सूचीबाटै बाहिरिएका छन्।
समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानून तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना ( कालो सुचीमा रहेका १ जना र लाभको पदमा रहेका १ जना) लाई निर्वाचन आयोगले सूचीबाटै नाम हटाएको हो।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम निर्धारण भई सो कार्यक्रम बमोजिम दलहरूबाट उम्मेदवारको बन्दसूची पेस भई सो बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझ गरी कानून बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटाउने निर्णय गरेको हो।
निर्वाचन आयोगले जरिवाना नबुझाएका ३६९ जना व्यक्तिको नाम उम्मेदवारको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ।
प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण समयमा पेस नगरेको आधारमा निर्वाचन आयोगको भदौ ३१ गतेको निर्णयानुसार जरिवाना तोकिएको थियो।