गृहपृष्ठ Featured आयात १६ र निर्यात ३५ प्रतिशत घट्यो

आयात १६ र निर्यात ३५ प्रतिशत घट्यो

काठमाडौँ ।

चालु आर्थिक वर्षको तीन महिनामा कुल ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको समग्र व्यापार स्थितिअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात १६ प्रतिशतले घटेको छ ।

गत वर्ष यसै अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्ष केही वस्तुमा लागेको प्रतिबन्धले गर्दा आयात घट्न पुगेको हो । चार पांग्रे सवारीसाधन, १५० सीसी माथिका मोटरसाइकल, ३ सय डलरमाथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध अहिले पनि जारी छ ।

आयात १६ प्रतिशत घट्दा निर्यात भने ३५ प्रतिशत घटेको छ । ४ खर्बको वस्तु आयात हुँदा जम्मा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । समग्रमा तीन महिनामा मुलुकको ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ ।

व्यापार घाटा १३ प्रतिशतले घटेको हो । गत वर्षको तीन महिनामा कुल ब्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो ।

सम्बन्धित् समाचार