रुपन्देही ।
केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिस्पर्धी छन् ।
एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिस्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास नहुने भन्दै मत मागिरहेका छन् ।
एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गत वर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्युरोमा उक्लिएका थिए ।
एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गरेका विश्वकर्मा अहिले एमालेका सचिव छन् भने भुसालले टिकट नपाएकै कारण एमाले छाडेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ ।
एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ ।








