अब अन्तिम खेलमा न्युजिल्याण्डले आयरल्याण्डसँग, अष्ट्रेलियाले अफगानिस्तानसँग र इंग्ल्याण्डले श्रीलंकासँग खेल्न बाँकी छ । त्यसपछि मात्रै सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।
ब्रिसबेनमा भएको खेलमा इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ३६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६२ रन बनाए । कप्तान केन विलियम्सनले ४० बलमा ४० रन बनाए । मिचेल सान्टनर १६ रनमा अविजित रहे ।
बलिङमा इंग्ल्याण्डका लागि क्रिस वोक्स र साम करनले २-२ तथा मार्क उड र बेन स्टोक्सले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले ४७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७२ रन बनाए । एलेक्स हेल्सले ४० बलमा ५२ रन जोडे क्रममा ७ चौका र १ छक्का प्रहार गरे । लियम लिभिङस्टोनले २० रन जोडे ।
बलिङमा न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा टिम साउदी, मिचेल सान्टनर र इश सोधीले १-१ विकेट लिए ।