कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका दुई सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।
जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको बताए ।
“पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो”, उनले भने ।
समितिले एक सय सातलाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूची निर्धारण गरिएको बताए । गत स्थानीय निर्वाचनमा दुई सय ३५ मतदानस्थल र चार सय ६८ केन्द्र राखिएको थियो । यस पटक मतदानस्थल एउटा घटाएर दुई सय ३४ र मतदान केन्द्र चार बढाएर चार सय ७२ कायम गरिएको छ ।








