बुटवल ।
लुम्बिनी प्रदेशका मुख्य सहरमा रेल चलाउने र सुरुङमार्ग खन्ने महत्त्वाकांक्षी योजनासहित नेपाली कांग्रेस लुम्बिनीले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको छ ।
घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याउने र रोलमोडलका रुपमा विकास गर्ने भनिएको छ । लुम्बिनीलाई प्रदेशका अन्य पर्यटकिय क्षेत्रसँग जोड्ने र आसपासका अस्पतालहरूलाई बर्थिङ सेन्टरका रुपमा विकास गरी बौद्धमुलुकबाट प्रसूति गर्न आउनेलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख छ ।
कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिँदै घोषणापत्र तयार गरिएको बताए ।
नेपाली कांग्रेस लुम्बिनीले बिहीबार बुटवलमा कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्रमा प्रदेशलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उल्लेख गरिएको छ । शैक्षिक केन्द्रका रुपमा विकास भएका बुटवल, दाङ र नेपालगन्जमा शैक्षिक पूर्वाधार र गुणस्तर विकास गर्ने उल्लेख छ । प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा जनाइएको छ ।
यस्तै कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धासित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविष्कार केन्द्र स्थापना गर्ने बताइएको छ । एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवाहरूसँग जोड्ने उल्लेख छ ।








