गृहपृष्ठ Featured रुपन्देही- २ : सुकुम्बासी भन्छन्– ‘चुनाव आउँछ जान्छ, तर हाम्रो दुःख कहिल्यै गएन’

रुपन्देही- २ : सुकुम्बासी भन्छन्– ‘चुनाव आउँछ जान्छ, तर हाम्रो दुःख कहिल्यै गएन’

बुटवल ।

रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ मा ठूलो सकुम्बासी बस्ती छ । तिनाउ किनारमा बुद्धनगर, बिनापाते, हात्ती सुँड, दुर्गानगर, मजुवा रानीगञ्जलगायत सुकुम्बासी बस्ती छन् । सुकुम्बासीलाई जग्गा दिने नाममा नदी किनार उपलब्ध गराउँदा नदीको क्षेत्र साँघुरिएको छ ।

नदीले प्राकृतिक बहाव खोज्दा सुकुम्बासी बस्तीलाई दुःख दिएको छ । दुई दशकभन्दा लामो समयदेखि नेताहरुको चुनावी मुद्दा नै यही बन्दै आएको छ । सधैँ हुन्छ भन्ने तर कहिल्यै नगर्ने नेताको बानीले आजित छन्, सुकुम्बासी बस्तीका बासिन्दा ।

बस्तीमा १५ वर्षदेखि किराना पसल चलाइरहेको छ, देवबहादुर राना (६०)को दम्पतीले । भित्री बस्तीमा रहेको उनको पसलमा अहिलेसम्म कोही उमेदवार पुगेका छैनन् । उनकी श्रीमती फूलमाया (५६) ले आगो ओकलिन्, “आउँछन् जान्छन्, हामीलाई के मतलब । आफ्नो दुःख आफैँसित छ,” उनले भनिन्, “दुई÷चार दिन के–के न गर्छु भन्छन्, माथि गएपछि वास्तै गर्दैनन् ।”

देवबहादुर २० वर्षदेखि सकुमबासी बस्तीमा बस्दै आएका छन् । उनको १८ जनाको परिवार छ । उनी आफ्नो मत कसलाई दिने भन्नेमा अन्योलमा छन् । “पुरानालाई हालौं काम देखिहालियो, नयाँको पनि के भर ?,” उनले असन्तुष्टि र शंका एकैपटक जनाए ।

बस्तीमा रहेका सबै सुकुमबासी भने नरहेको स्वयं सुकुम्बासीहरू नै बताउँछन् । पुख्र्यौली थातथलो अझै पनि नछोडेका र सम्पन्नहरूसमेत जग्गाको लालपुर्जाको आसमा बसेको स्थानीय बासिन्दाले बताए ।

६९ वर्षकी भीमकुमारी अधिकारीले चुनावका कुरा सुन्नासाथ दिक्क मानिन् । उमेदवार मत माग्न आए पनि केही गर्लान् भन्ने उनलाई आशा छैन । “आएर के गर्ने, हामीलाई केही दिँदैनन्,” उनले भनिन् । सुकुम्बासीको पहिचान हटाउने लालपुर्जा नदिएको भन्दै उनले सुकुम्बासीको नाममा भोटको खेल मात्र भएको बताइन् ।

सम्बन्धित् समाचार