सागर वि.क., वैखरी अनलाईन ।
आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरेले मतदाताको शिर ननिहुरिने गरि काम गर्ने दाबी गरेका छन् । कपिलवस्तु जेसिजले शनिबार बाणगंगाको चारनम्बर चोकमा आयोजना गरेको ककस कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदैं उनले यस्तो दाबी गरेका हुन् ।
आफु यस क्षेत्रका जनताको सुखदुखमा ३० बर्षदेखि काम गर्दै सक्रिय रहेको बताउँदै उनले भने, ‘हिजो म तपाईहरु जस्तै प्रश्न सोध्ने ठाउँमा थिए, अहिले सुनिरहेको छु । अब कार्यान्वयन गर्ने स्थानमा पुर्याउनुभयो भने तपाईहरुको शिर ननिहुरिने गरि काम गर्छु ।’
गुणस्तरिय शिक्षा अहिलेको आवश्यक भएको उनले बताए । यस क्षेत्रका कतिपय विधार्थीहरु विज्ञान विषय पढ्न बुटवल जाने गरेको र उक्त स्थितिको अन्त्य गर्न पहल गर्ने बताउँदै उनले भने, विज्ञान विषय मात्र होईन । हामी घरदैलो कार्यक्रममा जादाँ पनि ईन्जिनिरिङ्ग तथा मेडिकलसंग सम्बन्धित विषयहरु पढ्न बाहिरी जिल्ला जानुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनुपर्ने आवाज उठेको छ । म त्यसप्रति गम्भिर भएर लाग्ने छु ।’
उनले बजारमा बिक्ने शिक्षा हुनुपर्नेमा जोड दिए ।









