गृहपृष्ठ Featured गुल्मी- २ : रामकुमारी र गोकर्णबीच वाकयुद्ध

गुल्मी- २ : रामकुमारी र गोकर्णबीच वाकयुद्ध

आसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् ।

विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले दुवैले आफ्नो चुनाव प्रचारलाई आक्रामक तुल्याएका छन् ।

झाँक्रीलाई मतदाताको घरदैलोमा पुग्न उनलाई भ्याइ–नभ्याइ छ । घरदैलोको क्रममा आयोेजित कोणसभाहरुलाई सम्बोधन गर्दै उनले गुल्मी–२ को परिचय बदल्ने गरी काम गर्ने प्रतिबद्धता जनाउने गरेकी छन् ।

आफूले निर्वाचन जितेको खण्डमा ५ वर्षमा के के काम गर्ने भन्ने रणनीतिक योजना पनि बनाएको उनी बताउँछिन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको साथ छ ।

घरदैलोकै क्रममा गुल्मीको इश्मा गाउँपालिका वडा नं. २, रातडाँडा गाउँमा पुगेकी रामकुमारी रातोपाटीसँग संक्षिप्त कुराकानी गरिन् ।

केही समय अघि उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ३, हाडहाडेको जनजाति बस्तीमा उनीप्रति गरेको टिप्पणीबारे कुरा गर्न खोज्दा उनी भावुक बनिन् । हाडहाडेमा उनीप्रति लक्षित गर्दै विष्टले भनेका थिए, ‘जनजातिकी छोरीचेलीलाई घर पठाउँदा सोलीभरि रोटी र रक्सीको कोसेली बोकाएर पठाउने हो, भोट दिने होइन ।’

विष्टको सो अभिव्यक्तिबारे रामकुमारीले भनिन्, ‘रोटी र रक्सीको कोसेलीले त मलाई समाजसँग झन् नजिक बनाउने भो, जनताको झन् नजिकको चेली बनाउने भो, आफन्त बढेको झन् राम्रो हो तर मलाई भोट नदिनु भन्ने कुरा पराजित मानसिकता हो ।’

यसैबीच झाँक्रीका प्रतिस्पर्धी एमाले नेता गोकर्ण विष्टले पार्टीमा विवाद भए पनि विभाजनको अवस्था ल्याउनु उचित नभएको टिप्पणी गरे । घरदैलोको क्रममा मालिका गाउँपालिकाको अर्जेमा पुगेका विष्टले रातोपाटीसँग कुरा गर्दै भने, ‘पार्टीमा विचारको बहस त भएकै हो तर यसको अर्थ विभाजन थिएन, पार्टीलाई कसरी सही दिशामा लैजान सकिन्छ भन्ने बहस थियो ।’

संसद विघटनपछि पार्टीमा विवाद र बहस भए पनि आफूले जिल्लामा कुनै पनि समानान्तर गतिविधि नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘पार्टीभित्र विचारको बहस भएको हो तर आफ्नो घर जलाएर खरानीको भागबण्डा गर्न खोज्नु उचित थिएन ।’ पार्टीमा छलफल, बहस र आलोचना, आत्मआलोचना हुनु स्वाभाविक हुने उनको तर्क थियो ।

सम्बन्धित् समाचार