अर्घाखाँची ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट एक मात्र महिला उम्मेदवार हुन्, पुष्पा भुसाल । अर्घाखाँचीबाट टिकट पाएकी उनी सत्तारूढ गठबन्धनको साझा उम्मेदवार पनि हुन् ।
अर्घाखाँची, पोखराथोकको राजनीतिक परिवारमा २०१७ फागुनमा जन्मिएकी भुसाल चार दशकयता कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनका पिता स्व। काशीनाथ गौतम बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री थिए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरिन् । कांग्रेस पार्टीको महिला र कानुन विभागमा लामो समय काम गरेकी उनीसँग नेपाल महिला संघको महासचिवको रूपमा महिला आन्दोलनको नेतृत्व गरेको अनुभव पनि छ । अहिले उनी कांग्रेस केन्द्रीय सदस्य छिन् ।
वरिष्ठ अधिवक्ता समेत रहेकी भुसाल नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिमा कांग्रेसको प्रतिनिधित्व गर्नेहरूमध्ये एक थिइन् । त्यसपछि २०६४ मा अर्घाखाँचीबाट निर्वाचित भएर उनी पहिलो संविधानसभामा पुगिन् ।








