गृहपृष्ठ कपिलवस्तु बिशेष जनचासो र सरोकारका विषयमा सधै प्रतिबद्ध छु : घिमिरे

जनचासो र सरोकारका विषयमा सधै प्रतिबद्ध छु : घिमिरे

वैखरी अनलाईन, बाणगंगा ।

आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरे यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । उम्मेदवार घिमिरेले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेण्डाको विषयमा जानकारी गराइरहेका छन् ।

सोमबार बाणगंगा नगरपालिकाका विभिन्न वडामा  उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसँग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरेका छन् । स्थानीय रामु थारुले घिमिरेसँग भने, ‘शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा जन भावना अनुसार काम भएन्, पहिलेका जनप्रपितनिधिले गरेनन् । अरु यसअघि जितेर गएपछि फर्केर आउनुभएन, तपाईं त्यसो नगर्नुहोला ।’

आफूहरू पटक–पटक ठगिएको भन्दै स्थानीय वृद्ध मतदाता विर बहादुर सुनारले पनि आफ्नो गुनासो पोखे । उनले भने, ‘अरूभन्दा तपाईं जाने बुझेको राम्रो व्यक्ति देखेका छौँ, तपाईं यहीँको मान्छे पनि हो, विकास गर्नुहोला, अरुले जस्तो भ्रष्टाचार नगर्नुहोला ।’
स्थानीय अर्की मतदाता सुभावती यादवले साइलक समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएकोे बताइन् ।

उम्मेदवार घिमिरेले यस क्षेत्रको विकासका लागि आफूले इमानदार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु, अब मैले काम गरेर देखाउने छु ।’ मतदाता भेटघाटका क्रममा घिमिरेले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताए ।

दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

उनले समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले यस क्षेत्रको चौतर्फी विकासका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । घिमिरेले अब यहाँको चौतर्फी विकासलाई प्राथमिकता दिने बताए ।

सम्बन्धित् समाचार