भैरहवा ।
चार वर्षपछि सिद्धार्थ उद्योग वाणिज्य संघले आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म भैरहवामा ‘लुम्बिनी राष्ट्रिय महोत्सव २०७९’ को आयोजना गरेको छ ।
‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको आठौं महोत्सवमा स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गरिने बताइएको छ ।
साथै घरेलु सामग्रीप्रति उपभोक्तालाई जागरुक बनाइ स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकला सामग्रीको बजार प्रवर्द्धनलाई महोत्सवले प्राथमिकता दिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले मुलुक आर्थिक मन्दीले गुज्रिरहेको अवस्था भए पनि केही हदसम्म बजार चलायमान गराउन महोत्सवको आयोजना गरिएको बताए । ‘महोत्सवको माध्यमबाट स्थानीय स्तरमा छिरलिएर रहेका साना पूँजीलाई सकंलन गरी बजारमा ल्याइ आर्थिक तरलताको समस्या कम गर्नु महोत्सवको उद्देश्य हो,’ न्यौपानेले भने ।
उनका अनुसार रुपन्देहीका विभिन्न पालिकाहरूसँगको सहकार्य र समन्वयमा आयोजवना गरिएको यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिमा १० करोड रुपैयाँ बराबरको कारोवार हुने आकलन गरिएको छ । महोत्सवमा २ सय ५० वटा स्टल रहने बताइएको छ।