अस्ट्रेलियन विङ्गर मार्टिन बोयलले घुँडाको चोटका कारण विश्वकप गुमाउने भएका छन्। अस्ट्रेलियाको २६ सदस्यीय टिममा उनको स्थान अब मार्को टिलियोले लिने भएका छन्।
हाइबर्नियनबाट स्कटिस लिग खेल्दै आएका बोयल तीन साता अगाडि घाइते भएका थिए। उनी विश्वकप सुरु हुनुअघि फिट हुने आशा गरिएको थियो। तर, कतार पुगिसके पनि ट्रेनिङ गर्न नसक्ने भएपछि उनलाई प्रतिस्थापन गरिने भएको हो।
इन्स्टाग्राममा पोस्ट गर्दै उनले भनेका छन्, ‘म अब टिमको ‘भाइभ’ व्यवस्थापकको जिम्मेवारी निर्बाह गर्छु।’
विश्वकपको टिमबाट आफ्नो नाम फिर्ता हुँदा अत्यन्तै दु:ख लागेको सुनाउँदै बोयलले फिट हुन हरसम्भव प्रयास गरे पनि असफल भएको बताएका छन्।
‘म विश्वकपको छनोट खेल्न पाउँदा र २६ सदस्यीय टिममा छनोट हुनुमा गर्वगर्छु,’ उनले भनेका छन्, ‘क्याम्पमै बस्न पाउने भएकाले झन् भाग्यशाली महसुस गरेको छु।’
अस्ट्रेलियन २१ वर्षीय टिलियो मेलबर्न सिटीबाट ए-लिग खेल्छन्। उनले दोहामा राष्ट्रिय टिमसँग तयारीसमेत थालेका छन्। समूह ‘डी’मा परेको अस्ट्रेलियाले नोभेम्बर २३ (बुधबार) फ्रान्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।
त्यस्तै, शनिबार ट्युनिसिया र नोभेम्बर ३० मा डेनमार्कसँग खेल्ने छ।








