गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : प्रदेश र प्रतिनिधिसभामा एमाले पहिलो दल

लुम्बिनी प्रदेश : प्रदेश र प्रतिनिधिसभामा एमाले पहिलो दल

रूपन्देही । 

लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले लुम्बिनी प्रदेशमा पहिलो दल बनेको हो ।

कांग्रेस प्रदेशतर्फ कांग्रेस १७ सिट र प्रतिनिधिसभातर्फ ६ सिट जितेर दोस्रो दल बनेको छ । माओवादी ५ सिटसहित तेस्रो छ । जनता समाजवादी र स्वतन्त्रले ३/३ सिट जितेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २/२ सिटमा बिजयी भए । सिके राउत नेतृत्वको जनमत पार्टी र लोकतान्त्रिक समाजवादीले १/१ सिट जितेका छन् । त्यस्तै प्रतिनिधिसभामा माओवादी केन्द्र र राप्रपा समान भएका छन् । दुवै दलले ३/३ सिट जितेका छन् । नेकपा एकीकृत समाजवादीले १, लोकतान्त्रिक समाजवादीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ २७ सिट जितेको एमाले १८ सिटमा खुम्चिए पनि पहिलो दल बनेको हो । २०७४ मा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको कांग्रेस गठबन्धनको सहयोगमा १७ सिटमा पुगेको छ । २०७४ मा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा १४ सिट जितेको माओवादी यस पटक कांग्रेससँगको गठबन्धनबाट ५ सिटमा खुम्चिएको छ ।

२०७४ को निर्वाचनबाट ५ दल लुम्बिनी प्रदेशसभामा छिरेका थिए । तर, यसपटक दलको संख्या बढेर ८ पुगेका छन् । प्रदेशसभाबाट जनमोर्चा बाहिरएको छ भने, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र राप्रपा थपिएका छन् । जनमोर्चा र एकीकृत समाजवादी समानुपातिकतर्फबाट प्रवेश हुन्छन् वा हुँदैनन् निश्चित भइसकेको छैन ।

५२ प्रत्यक्षबाट र ३५ सिट समानुपातिक गरी प्रदेशसभा ८७ सदस्यीय हुन्छ । कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछि प्रदेश सरकार गठनमा अन्योल र चर्चा बढेको छ । पुरानै गठबन्धनले पनि बहुमत पुर्‍याउन नसकेपछि दलहरुले कसरी सरकार गठन गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु गरेका छन् । एमालले जसपाको साथमा राप्रपा र स्वतन्त्रलाई ल्याएर सरकार बनाउने प्रयास गर्नेछ । त्यो गर्दा २६ सिट हुनेछ । पुरानै गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । त्यसो गर्दा पनि कांग्रेसको १७, माओवादीको ५ र जनमत र नागरिक उन्मुक्ति र लोसपासमेत गर्दा २६ सिट पुग्ने छ ।

नागरिक उन्मुक्ति पार्टीले कांग्रेससँग गठबन्धन गरेर सरकारमा सहभागी हुने विषयमा सकारात्म भएको एक कांग्रेस नेताले बताए । उनको अनुसार कांग्रेसले सकेसम्म पहिलो चरणमै आफ्नो नेतृत्वमा सरकार गठनका लागि एमालेबाहेकका सबै दललाई मिलाएर सरकार गठनको प्रयास गर्नेछ । समानुपातिक मत परिणामबाट आउने ३५ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र सरकार गठनका लागि संख्याको गणना सुरु हुनेछ ।

प्रदेशमा स्वतन्त्रबाट निर्वाचित तिनै जना माओवादीबाट बागी उम्मेदवार बनेका हुन् । स्वतन्त्रमा रोल्पाका पुनसँगै पूर्वी रुकुम १ (१)का सुरुल पुन र पश्चिम नवलपरासी २ (१) का खड्ग बस्नेत छन् ।

सम्बन्धित् समाचार