हिरासतमा राखिएकी २२ वर्षीया मेसा अमिनीको दुई महिनाअघि मृत्यु भएपछि इरानमा निरन्तर सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्।
इरानको आणविक हतियारसम्बन्धी गतिविधिलाई लिएर लगातार विरोध र ‘एक्सन’ लिइरहेको अमेरिका पछिल्लो घटनामा पनि चुप बसेको छैन । यसैको प्रभाव कतारमा जारी विश्वकपमा पनि देखिएको छ।
अमेरिका इरानको विरोध गर्न विश्वकप प्लेटफर्म प्रयोग गरिरहेको छ। आफूलाई सरकारको विरोधी दाबी गर्ने इरानीहरू समेत कतारका विभिन्न स्थानमा प्लेकार्ड र विरोध जनाउने अन्य सामग्रीसहित प्रस्तुत भइरहेका छन् । अल जजिरा, रोयर्टसलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानका खेलमा सुरक्षा व्यवस्था थप बलियो बनाउने गरिएको छ।
इरानको राजनीतिक विरोधका लागि विश्वकप प्रयोग हुन सक्ने सम्भावित घटनालाई कम गर्न कतारका सुरक्षा निकाय सचेत देखिएका छन्। तर पनि विरोधका स्वरहरू सतहमा देखिन कम भएका छैनन्।
अमेरिकाको फुटबल संघले इरानको झन्डाबाट अल्लाह शब्द हटाएर सामाजिक सञ्जालमा राखेको थियो जुन अहिले विवादपछि ‘डिलिट’ गरिएको छ। अमेरिकी फुटबल संघको उक्त कार्यप्रति इरान फुटबल संघले विरोध जनाउँदै विश्व फुटबल महासंघ (फिफा)मा उजुरीसमेत गरेको बताइएको छ। अमेरिका—इरानको शत्रुता निकै पुरानो हो।








