काठमाडौंका विकास महर्जन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चंगा उडेजस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथोपटक पाल्पा घुम्न आएका उनलाई यसपालि भने प्याराग्लाइडिङले तान्यो । ‘ऐतिहासिक तानसेन बजारलाई आकाशबाट हेर्दाको मज्जा नै बेग्लै हुँदोरहेछ,’ उनी भन्छन्,
‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाइडिङ राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचान अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ सञ्चालित साहसिक जलयात्रा (¥याफ्टिङ), प्याराग्लाइडिङ र जिपलाइनले पर्यटकलाई आकर्षित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवासमेत पुर्याएको छ ।
पहिलोपटक रानीमहल घुम्न आएका नेपालगन्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्याफ्टिङ गर्दा आनन्द महसुस भयो,’ उनी भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुंगे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्दछन् ।
यहाँका ऐतिहासिक तानसेन बजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् भने दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।








