गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाको एक विद्यालय : जहाँ विद्यार्थीहरुलाई गराईन्छ तरकारी खेतिको अभ्यास

बाणगंगाको एक विद्यालय : जहाँ विद्यार्थीहरुलाई गराईन्छ तरकारी खेतिको अभ्यास

प्रकाशित मिति:

कपिलवस्तु । 

कपिलवस्तुको बाणगंगामा एक आधारभूत तहको सामुदायिक विद्यालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै प्रयोगात्मक विधिबाट विद्यालयमै तरकारी खेतीको अभ्यास गर्छन् ।

बाणगंगा नगरपालिका- ८ उदयपुर, मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालयमै करिब १ कट्ठा जमिनमा यतिबेला विभिन्न जातका हिउँदे तरकारी खेती गरेका छन् । उनीहरुले लगाएका तरकारीको संरक्षण विद्यार्थीहरुसँगै विद्यालयका शिक्षक तथा कर्मचारीले पनि गर्ने गरेका छन् ।

यतिबेला जनसेवा आधरभूत विद्यालयका विद्यार्थीहरुले विद्यालय प्राङ्गण भित्रको खाली जग्गामा टमाटर, लसुन, बन्दागोबी, फुलगोबी, खुर्सानी लगाएका छन । यस्तै उनीहरुले हरिया सागपात अन्र्तगत पास्सै, तोरी, मेथी, धनीया, फापर, गाजर समेत लगाएको कक्षा ६ कि छात्रा दिक्षा रानाले बताउनुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेका अनुसार पाठ्यवस्तुमा विद्यार्थीहरुलाई कृषिका कुराको सैदान्तिक ज्ञान प्रदान मात्रै नगरी उनीहरुलाई नै प्रत्यक्ष सहभागी गराई तरकारी खेती गर्न सिकाउने काम भइरहेको बताउनुभयो ।
हाल कक्षा ८ को पाठ्यक्रममा पेसा व्यवसाय र प्रविधि विषयमा समेत करेसाबारी र तरकारी खेतीको पाठ्यवस्तु राखिएको छ । सो विषयलाई प्रभावकारी बनाउन विद्यालयमै विद्यार्थीको प्रत्यक्ष सहभागितामा तरकारी खेतीको अवधारणा दिने काम भइरहेको प्रधानाध्यापक पाण्डेले बताउनुभयो ।

तरकारी खेती सँगै विद्यार्थीहरुलाई जडिबुटीको पनि ज्ञान दिलाउन यहाँको माटोमा हुर्कन सक्ने खालका तुलसी, सञ्जिवनी, टोप्रेझार, घिउकुमारी लगाएतका जडिबुटी खेतीको विषयमा पनि अभ्यस्त बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा गरिएको तरकारी खेतीको अभ्यासले भोली विद्यार्थी स्वयम आफै व्यवसायिक तरकारी खेतीमा लाग्न सक्ने र अहिले पनि घरमा आफ्ना अभिभावकसँग तरकारी खेतीमा सँगै सहभागि बन्ने समेत बानीको विकास हुने विद्यालयको विश्वास छ ।

विद्यार्थीहरुलाई तरकारी खेती गर्नु पुर्वको तयारी, विउ वा बेर्ना रोप्ने तरीका, दैनिक हेरचाह, सिँचाई तथा गोडमेलका विषयमा जानकारी गराइएको छ भने तरकारी खेतीबाट हुने फाइदाका विषयमा पनि जानकारी दिने गरीएको छ ।

किताबी ज्ञान मात्रै भन्दा पनि संम्भव भएसम्म विद्यालयमै प्रयोगात्मक रुपमा विद्यार्थीलाई ज्ञान दिन सकिने गतिलो उदाहरणको रुपमा जनसेवा आधारभूत विद्यालयले तरकारी खेतीको प्रयोगात्मक अभ्यासमा विद्यार्थीहरुलाई जग्गा दिएको हो । हाल लगाइएका तरकारीको कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले दैनिक सिँचाई, गोडमेल तथा हेरचाह गर्ने गरेको विद्यालयले जनाएको छ ।

आवश्यक औजार, भिटामिन र सामग्री विद्यालयले विद्यार्थीहरुलाई व्यवस्थापन गरिदिने गरेको छ । विद्यार्थीले लगाएका तरकरी हर्लक्क भएका छन भने तरकारी खेती गर्न पाउँदा विद्यार्थीहरु पनि खुसी छन् । यहाँ यसै वर्ष देखि तरकारी खेतिको प्रयोगात्मक अभ्यास सुरु गरिएको हो ।

सम्बन्धित् समाचार