गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ। जिल्लाको रुरु क्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन्।
पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन्। उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनि त्यस्तै पाठशालाको खोजीमा लागिन्।
पाल्पाबाट बुटवल गएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुपर्यो। ‘बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें’, उनले भनिन् , ‘गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ’, उनले भनिन्। शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ। शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाले बताइन्।
गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा छिन्। समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनि अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ। बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताए।







