सागर वि.क., वैखरी अनलाईन ।
आगामी माघ १७ गतेदेखि सुरु हुने १३औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारीबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । महोत्सवको आयोजकका रुपमा रहेको कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार यस क्षेत्रका सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो । १३औं कपिलवस्तु महोत्सव माघ १७ गतेदेखि २९ गतेसम्म बाणगंगा- ४ स्थित बुद्धरंगशालामा हुदैं छ ।

महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यमा केन्द्रित रहेर संघले छलफल सम्पन्न गरेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । छलफलमा अध्यक्ष घिमिरेले महोत्सवको तयारीलाई तीब्र पार्न विभिन्न समितिहरु बनाएर व्यवस्थित ढंगले अघि बढ्ने तयारीमा रहेको बताए । महोत्सवलाई कपिलवस्तुकै पहिचानको रुपमा स्थापित गरि ऐतिहासिक बनाउन सबै सरोकारवालाहरुको साथ सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सव सफल बनाउनु सबैको दायित्व रहेको बताउँदै व्यापार हुदाँहुदै पनि गुनासो गर्ने प्रवृति कायम रहेको बताए । उनले महोत्सवलाई सफल बनाउन आफु कट्टिवद्ध भएर लाग्ने उनले प्रतिवद्धता समेत जनाए ।
यस्तै संघका पुर्वअध्यक्ष विष्णुप्रसाद न्यौपानेले नयाँपनको कुरा हुदै आएको तर पुर्णरुपमा लागु नभएको गुनासो गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले दाबी गरे ।
अन्तरक्रियामा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले यस महोत्सवले नयाँ खालको सन्देश दिन आवश्यक रहेको बताए । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘यो महोत्सव सफल हुनु भनेको हामी सबै सफल हुनु हो । म मलाई दिएको जिम्मेवारी बहन गर्न प्रतिवद्ध छु ।’
कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेलले स्थानीय तथा स्वदेशी उत्पादानलाई महोत्सवले प्रोत्साहन गर्नुपर्ने बताए । संघका पुर्वकोषाध्यक्ष कृष्णप्रसाद गैरेले आर्थिक कारोबार पारदर्शी हुनु बताए । विगतका महोत्सवहरुमा संचालन हुदैं आएको डान्स आईडल प्रभावकारी नभएको संघका पुर्वसल्लाहकार शक्तिसिंह ठकुरीले बताए ।
उनले महोत्सवमा नयाँपन आवश्यक रहेको बताउँदै भने, ‘महोत्सव हाजबजार शैलीमा संचालन हुदैं आएको छ । महोत्सव व्यवसाय प्रवद्र्धनका लागी हो कि आर्थिक आयआर्जनका लागी हो ? यसमा प्रष्ट हुनुपर्यो ।’ छलफलमा सहभागिहरुले विगतका महोत्सवमा पुर्णरुपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।








