गृहपृष्ठ Featured कपिलवस्तुमा एक शिक्षकले राष्ट्रिय गान गाउँदा त्रुटि भएपछि…

कपिलवस्तुमा एक शिक्षकले राष्ट्रिय गान गाउँदा त्रुटि भएपछि…

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको एक विद्यालयले राष्ट्रिय गान गाउँदा त्रुटि भएको विषयलाई लिएर प्रेस विज्ञप्ति नै जारी गरेको छ ।

जिल्लाको विजयनगर गाउँपालिका- ३ पत्थरदेईयामा रहेको श्री जनता आधारभूत विद्यालयका शिक्षक पारस प्रसाद जयसवालले गत शुक्रबार कक्षामा राष्ट्रिय गान गाएको भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएको थियो । जुन भिडियोमा ति शिक्षकलाई राष्ट्रिय गान गाउँन केही असहज भएको दृश्य देखिन्छ । ५९ बर्षीय जयसवाल स्थायी शिक्षक हुन् ।

शिक्षकलाई अनावश्यक दबाब दिई राष्ट्रिय गान गाउँन लगाएको विद्यालयले दाबी गरेको छ ।

‘मिति २०७९/०८/२१ गते शुक्रबारका दिन यस श्री जनता आधारभूत विद्यालय विजयनगर गाउँपालिका ३ पत्थरदेइयामा ४ जना स्थानीय पत्रकार विना अनुमति विद्यालय प्रवेश गरी त्यसमा दुई जना कृष्ण पौडेल र शम्भु वि.क.ले विना अनुमति कक्षा कोठामा प्रवेश गरी यस विद्यालयका ५९ बषीय स्थायी शिक्षक श्री पारस प्रसाद जयसवाल सरलाई अनावश्यक तरिकाले दबाब दिई जुन राष्ट्रिय गान बिहान प्रार्थनाको समयमा सामुहिक रुपमा गाउनु पर्ने भएकोले एक्लै गाउन लगाएको र सो क्रममा उहाँ आतिएर राष्ट्रिय गान गाउँदा केही त्रुटि भएको सामान्य कुरालाई भिडियो बनाइ बुद्ध टि.भि. फेसबुक र अन्य सामाजिक सञ्जाल मार्फत अनावश्यक कुरा लेखि निज शिक्षकको चरित्रहत्या गर्ने काम गरेको कार्य प्रति विद्यालय परिवार उक्त कार्यको घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ ।,’ विज्ञप्तिमा भनिएको छ ।

यता पत्रकार शम्भु वि.क.र कृष्ण पौडेलले भने प्रधानध्यापकसंग अनुमति लिई कक्षा प्रवेश गरेको र ति शिक्षकसंग पनि अनुमति लिई भिडियो बनाएको दाबी गरेका छन् । ‘हामी दुवैले हेड सरसंग केही समय कक्षाकोठामा जान्छौं भनेर सोध्यौं, उहाँले अनुमति दिनुभयो,’ पत्रकार वि.क.ले भने, ‘पछि कक्षा कोठामा जादाँ जयसवाल सरले पनि म राष्ट्रिय गान गाउँछु भन्नुभयो, अनि मैले पनि भिडियो बनाउँछु भन्दा हुन्छ भन्नुभयो ।’

सम्बन्धित् समाचार