गृहपृष्ठ Featured दुई मन्त्रालयका लागी भाडामा भवन खोज्दै लुम्बिनी प्रदेश

दुई मन्त्रालयका लागी भाडामा भवन खोज्दै लुम्बिनी प्रदेश

तुलसीपुर ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा दुई मन्त्रालयका लागि भाडाका भवन खोजिएको छ । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाका भवन खोजिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कृषि मन्त्रालयका लागि वडा नम्बर–२ मा र शिक्षा मन्त्रालयका लागि वडा नम्बर–८ मा भवन तयारी अवस्थामा राखिएको छ । बिहीबार मन्त्रालयका सचिवहरू आएर त्यो भवन हेरिसकेको उनले बताए ।

“मन्त्रालयका सचिवहरू आएर भाडामा भवन लिने भनी सबै हेरिसक्नुभएको छ,” उनले भने, “एक हप्ताभित्रमा उहाँहरू आउँछु भन्नुभएको छ ।”

प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले पनि कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता तिलकराम शर्माका अनुसार श्रेणीविहीन कर्मचारीलाई तीन हजार ५००, चौथो, सहायक पाँचौँ र अधिकृतसम्मलाई ६ हजार रुपैयाँ मासिक आवास सुविधा दिने निर्णय भएको छ ।

प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी ३३७ कर्मचारी छन् । राजधानीअन्तर्गतका मन्त्रालय स्थानान्तरण गर्दा लाग्ने खर्च सम्बन्धित मन्त्रालयबाट भुक्तानी मिलाउने, खर्च शीर्षक नभएको हकमा अर्थ मन्त्रालयमा माग गर्ने निर्णय भएको छ ।

सम्बन्धित् समाचार