रुपन्देही ।
रुपन्देहीमा पर्यटकको बसाइ लम्बाउने उद्देश्यसहित पर्यटन व्यवसायीले हरेक महिनाको पहिलो शनिबार विभिन्न क्षेत्रको पैदलयात्रालाई अगाडि बढाउने भएका छन् ।
पर्यटनका नयाँ गन्तव्यहरुको पहिचान गर्न यस्तो अभियान सुरु गरिएको व्यवसायीको भनाइ छ । यही अभियानअन्तर्गत शनिबार पहिलोपटक करिब ३ सय सरोकारवालालाई लिएर व्यवसायीहरुले बुटवल-नुवाकोट पैदलयात्रा तय गरेका छन् ।
शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको ‘हाइकिङ’मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीका अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।
सामान्यतया शहर नजिकका क्षेत्रहरुको पैदलयात्रालाई नै हाइकिङ भन्ने गरिन्छ । सोहीअनुसार नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा यस्तो अभियान थालेको पन्तले बताइन् । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित बृहत पदयात्राको तयारी पूरा भएको पन्तको भनाइ छ ।
नुवाकोटमा सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसँगै पर्यटन पूर्वाधारहरुको समेत अवलोकन कार्यक्रममा हुने रुट संयोजक मदन ज्ञवालीले जानकारी दिए ।








