चितवन ।
संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो सो सडक बन्द रहने नारायणगढ–मुग्लिन–नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।
मुग्लिनदेखि पश्चिमका चारवटा पुल बनाउनका लागि दिउँसो सडक बन्द हुन लागेको हो ।
एक महिना जति दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्ने आयोजनाका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले बताए । चिसेन्जी, तुइन खोला, कालिखोला र सिमलतालमा पुल बनाउन पहाड काट्नु पर्ने भएको र पहाड काटेका बेला गाडी चल्दा जोखिम हने भएका कारण सडक बन्द गर्नु परेको उनले बताए ।
चार वर्षअघि नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको फराकिलो बनाउने काम सम्पन्न भएको थियो ।








