गृहपृष्ठ Featured नेपाल टी-२० लिग : लुम्बिनीको दोस्रो जित

नेपाल टी-२० लिग : लुम्बिनीको दोस्रो जित

काठमाडौं । 

नेपाल टी-२० लिगमा लुम्बिनीले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइतबार टियू मैदान कीर्तिपुरमा भएको दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो।

लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाएपछि लुम्बिनीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

विराटनगरका लागि हुसेन तलातले सर्वाधिक ३९ रन बनाउँदा रोहितकुमार पौडेलले २५, सिकन्दर राजाले १७ रन र अर्जुन साउदले १० रन बनाएका थिए। पृथु बास्कोटा १८ रनमा आउट हुँदा कप्तान आन्द्रे म्याकार्थीले ११ रन जोडेका थिए।

लुम्बिनीका किशोर महतोले २ विकेट लिँदा सागर ढकाल, गुलसन झा, दिपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले १/१ विकेट हात पारे।

त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका ओपनर लाहिरू मिलन्थाले ८० रनको शानदार इनिङ खेले। उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रन बनाएका थिए। कुशल भुर्तेलले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १६ र विपुल शर्माले ११ रन जोडेका थिए। उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।

विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले १/१ विकेट लिए।

दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। हारसँगै पहिलो खेल खेलेको विराटनगर अंकविहीन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछन्।

लिगको विजेताले ५५ लाख नगद पुरस्कार पाउने जनाएको छ। उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख नगद पाउने छन्।

सम्बन्धित् समाचार