वैखरी अनलाईन, बाणगंगा ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध कपिलवस्तुका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सोही क्रममा शुक्रबार बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा सेतो कपडामा बैंकको ज्यादती विरोध एकताबद्धताको लागि उद्योग व्यवसायीहरुले हस्ताक्षर गरेका छन् ।
बजार क्षेत्रमा देखिएको मन्दिले व्यवसायीहरू चिन्तित भइरहेको बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा अत्यधिक वृद्धि र मानसिक दबाब बढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।
कपिलवस्तु उद्योग वाणिज्य संघले पौष २२ गतेसम्म विभिन्न चरणबद्ध आन्दोलन गर्ने र सोही अनुरुप हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष डोलकराम घिमिरेले बताए । चरणबद्ध आन्दोलनका कार्यक्रममा सबै व्यवसायीहरुको साथ रहेको उनले बताए ।
व्यवसायीहरूले चालु कर्जाको मार्ग निर्देशन खारेज गर्नुपर्ने, पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक अंकमा कायम गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाको आतंक बन्द हुनुपर्ने, कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन हुनुपर्ने, चालु रहेको ओभर ड्राफ कर्जा यथावत राख्नुपर्ने, राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज हुनुपर्ने, वर्षमा एक पटक चालुपुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।








