गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा सडक पेटीका व्यापार व्यवसाय हटेनन्

बाणगंगामा सडक पेटीका व्यापार व्यवसाय हटेनन्

सागर वि.क., वैखरी अनलाईन । 

जिल्लाको बाणगंगा नगरपालिकाले सडक र सडक पेटीमा संचालनमा रहेका व्यापार व्यवसाय तथा ठेला हटाउने निर्णय गर्‍यो । नगरपालिकाले उक्त निर्णय गरेता पनि अहिले नगरपालिकाका विभिन्न सडक र सडक पेटीमा व्यापार व्यवसाय तथा ठेला संचालनमै रहेको पाईएको छ । नगरपालिकाले पौष १५ गतेसम्मका लागी त्यस्ता व्यापार व्यवसाय हटाउन निर्देशन दिएको थियो ।

आईतबार पौष १७ गतेसम्म पनि नगरपालिका अनुगमनमा निस्किने कुनै छाटकाट छैन् । कहिले अनुगमनमा जाने ? कहिले हटाउने ? भन्नेबारे नगरपालिका अझै टुङ्गोमा पुग्न सकेको छैन् । नगरपालिकाले दिएको समयसिमा सकिएको २ दिन बितिसकेको छ । तर नगरपाकिकाको टोली अनुगमनमा निस्किएर त्यस्ता व्यापार व्यवसाय हटाउन अझै केही दिन लाग्ने नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले सडक र सडक पेटीमा संचालनमा रहेका व्यापार व्यवसाय तथा ठेला हटाउने काम केही नभएको बताईन् । उनले नगरसभा नजिकिएकाले आफुहरु अहिले व्यस्त गरेको बताईन् । उनले जनप्रतिनिधि र कर्मचारी बीच छलफल गरेर मात्र अनुगमनमा पुग्ने र त्यस्ता व्यापार व्यवसाय हटाउने प्रक्रिया अघि बढ्ने बताईन् । ‘नगरसभा नजिकै छ । अहिले हामी नगरसभाको तयारीमा छौ,’ उनले भनिन्, ‘त्यसैले धेरै नै व्यस्त छौ । त्यही भएर त्यस्तो हटाउने केही काम भएको छैन् ।’

नगरपालिकाका राजस्व शाखा अधिकृत मदन प्रसाद घिमिरेले अनुगमन टोली पुगेर त्यस्तो व्यापार व्यवासाय हटाउने तयारी रहेको बताए । वैकल्पिक व्यवस्थाको माग गर्दै नगरपालिकामा केही निवेदन आएको बताउँदै उनले भने, ‘शारिरीक रुपमा अशक्तले पनि व्यापार व्यवसाय गरेको भन्ने कुरा आएको छ । त्यस्तो हामीले जान्दैनौं, बाटोमा राख्न पाईदैन् भनेका छौं ।’

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको मंसिर २७ गते बसेको वैठकले सडक र सडक पेटीमा संचालनमा रहेका व्यापार व्यवसाय तथा ठेला हटाउने निर्णय गरेको थियो । नगरपालिकाको यस्तो निर्णयलाई धेरैले चासोका साथ हेरेका थिए ।

सम्बन्धित् समाचार