सागर वि.क., वैखरी अनलाईन ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध कपिलवस्तुका उद्योगी व्यवसायीले आन्दोलन जारी राखेका छन् । उनीहरूले पौष १५ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । सोही अनुसार उद्योगी व्यवसायीहरुले आईतबार बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा टाउकोमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । उनले उद्योगी व्यवसायीका मागहरु कतैबाट पनि सुनुुवाइ नभएपछि सडकमा उत्रिन बाध्य भएको बताए । राष्ट्र बैंकले अव्यवहारिक खालको ‘चालु पुँजी कर्जा निर्देशिका–२०७९’ जारी गरेको बताउँदै उनले भने, ‘यसबाट व्यवसायी आतंकित हुने परिस्थिति आएको छ ।’

राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाले व्याजदर बढाउँदा उद्योगी व्यवसायी ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेको उनले बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यापार, व्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको उनको भनाई छ । ‘हामी रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका हौँ, हाम्रो मागहरु पूरा नभएसम्म आन्दोलनको कार्यक्रम निरन्तर रहने छन्’ उनले भने ।

सोमबार जनप्रतिनिधि र बैंकका प्रमुखलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते राष्ट्र बैंक भएका ठाउँमा राष्ट्र बैंक र नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालो पट्टी सहित धर्ना दिने र प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाडौं केन्द्रित कार्यक्रम गर्ने तय भएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए ।
चारनम्बर चोकदेखि सुरु भएको उक्त आन्दोलन कार्यक्रम बजार परिक्रमा गरि पुनः चारनम्बर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कोणसभा कार्यक्रममा कपिलवस्तु उद्योग संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगर, उपाध्यक्ष तुल्मीराम घिमिरे, खुमानन्द घिमिरे, शालिकराम भुसाल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई, ईट्टा ब्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव रुक बहादुर भुसाल लगायतले आआफ्नो धारणा राखेका थिए ।
उनीहहरुले बजार क्षेत्रमा देखिएको मन्दिले व्यवसायीहरू चिन्तित भइरहेको बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा अत्यधिक वृद्धि र मानसिक दबाब बढाएको बताए । आन्दोलनको कार्यक्रम गरे पनि राज्यले नसुनेको उनीहरुको भनाइ छ । माग पूरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जारी राख्ने उनीहरुले बताए ।
प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’ लगायतका मागसहितका पम्प्लेट बोकेका थिए ।








