लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ । त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ । अघिल्लो कार्यकालको यो उपलब्धि हो । “हामीले आफ्नै प्रदेशसभा भवन निर्माण गर्यौँ”, उनले भने, “मुख्यमन्त्री कार्यालय पनि आयो, अन्य मन्त्रालय पनि अब आउँदैछन् ।”
साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ ।
साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताउनुभयो । उनका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्र भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।