सागर वि.क., वैखरी अनलाईन ।
लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बाणगंगामा पानी परिक्षणको लागी स्थापित गरिएको प्रदेश स्तरको ल्याब छिट्टै सुचारु हुने दाबी गरेका छन् । केही दिनमै प्रदेश गठन हुने र उक्त सरकारले ल्याब सुचारुका लागी आवश्यक काम ढिलाई नगरि अघि बढाउने उनको भनाई छ ।
बाणगंगा र गजेहडा भु.पु.सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८औं बार्षिक साधरण सभा तथा तेस्रो अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘यस खानेपानी संस्थाको सुव्यवस्थाका कारणले प्रदेश स्तरको ल्याब स्थापित गरियो । अब मात्र कर्मचारीको अभाव छ । अब बन्ने सरकारले अविलम्भ कर्मचारीको व्यवस्था गरेर सुचारु गर्छ ।’
उनले कपिलवस्तुको दक्षिणी क्षेत्रमा खानेपानीमा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले पछिल्लो समयमा बाणगंगा बसाईसराइको केन्द्र बनेको बताए ।

पानी विना मानव जीवन सम्भव नभएको बताउँदै उनले भने, ‘हामीले संविधानमा शुद्ध पानी पिउन पाउनु नागरिकको अधिकार हो भनेर लेख्यौं तर त्यो अझै पुरा हुन सकेको छैन् ।’
उनले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत लुम्बिनी प्रदेश सरकारको महत्वपुर्ण बजेट लगानी गरेको स्मरण समेत गरे । बाणगंगा र गजेहडा भु.पु.सैनिक खानेपानी लुम्बिनी प्रदेशकै नमुना खानेपानी आयोजनाका रुपमा रहेको भन्दै खुशी व्यक्त गरे ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका विनोद कुमार भुजेल, प्रदेश खानेपानी कमिटीका संयोजक थान प्रसाद गैरे, बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक पछाई लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा र गजेहडा भु.पु.सैनिक खानेपानी कपिलवस्तुकै ठूलो र व्यवस्थित खानेपानी भएको बताएका थिए । उनीहरुले उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउन यस खानेपानी सफल हुनेमा विश्वास व्यक्त गरे ।

बाणगंगा र गजेहडा भु.पु.सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले अझै पनि धेरैले खानेपानीको महत्व बुझ्न नसकेको बताए । स्थानीय सरकारदेखि संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पुर्याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको उनको भनाई छ । उनले पानीको अभावमा मानिसको जीवन रक्षा हुन नसक्ने बताउँदै उनले भने, ‘पानी विना मानव जिवनको कल्पना पनि गर्न सकिदैन् । पानी विना जीवनयापन हुन सक्दैन् ।’
कार्यक्रममा सचिव कृष्ण बहादुर शाहीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक कमल पौडेलले आन्तरिक लेखा परिक्षण प्रतिवेदन, पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानी सुरक्षा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।







