वैखरी अनलाईन, बाणगंगा ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध कपिलवस्तुका उद्योगी व्यवसायीले आन्दोलन जारी राखेका छन् । उनीहरूले पौष १५ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । सोही अनुसार उद्योगी व्यवसायीहरुले मंगलबार बाणगंगामा रहेको ईलाका प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले कार्यालय अगाडि कालो पट्टी बाँधेर २ घण्टा धर्ना दिएका हुन् ।

बैंकको बढ्दो ब्याजदर, प्रिमियर दर, चालु पुँजी कर्जा निर्देशिका २०७९ लगायतको विरुद्धमा आफुहरु धर्ना दिन बाध्य भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनले सरकारले लागु गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ नेपालको सन्दर्भमा अव्यवहारिक रहेको दाबी गरे ।
उनले यस निर्देशिका तत्काल खारेज हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको बताए । अहिले देशको अर्थतन्त्रका सम्पुर्ण सुचाङ्कहरु नकारात्मक रहेको बताउँदै उनले भने, ‘अर्थतन्त्र सुधार तथा सुदृढ गराउन निजि क्षेत्रसंगको सहकार्य र सहयोग आवश्यक छ ।’
सरकारले व्यवसायीका मागहरु सम्बोधन नगरे नेपाल बन्द समेत गर्न आफुहरु पछि नपर्ने उनले चेतावनी दिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गरे । बैंकहरुले पनि व्यवसाय धरासायी भएको अवस्थामा व्यवसायीहरुको समस्यालाई बुझेर अघि बढ्नुपर्ने उनको भनाई छ । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुको ऋण तिर्ने बताउँदै उनले भने, ‘हामीले ऋण तिर्दैनौ भनेका छैनौ । तर अहिले व्यवसायको पक्षमा बजार छैन् । यो अवस्था बुझ्नुपर्छ भन्ने हाम्रो माग हो ।’
उद्योगी व्यवसायीहरुका मागहरुलाई समेटेर तयार पारिएको विज्ञप्ति समेत ईलाका प्रशासन कार्यालयमा बुझाईएको महासचिव पौडेलले जानकारी दिए । धर्ना कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी तथा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।








