उनले टिमको व्यवस्थापनले खेलाडीलाई कुनै पनि किसिमको तनावमा रहन नदिएको पनि बताए । अन्य टिमका खेलाडीले अनुबन्ध रकम नपाएको समाचार आइरहे पनि लुम्बिनीका खेलाडीले भने पूरा रकम पाएको उनले बताएका हुन् ।
आफूले नेतृत्व गरेको टिम फाइनल पुग्दा खुसी देखिएका दिपेन्द्र भन्छन्, ‘नेपालको सबैभन्दा ठूलोर पहिलो पटक भएको फ्रेञ्चाइजमा आफ्नो कप्तानीमा फाइनल पुुग्यौं खुसी छु ।’
लुम्बिनीको टिममा राम्रो समझदारी भएको पनि कप्तान बताउँछन् । विदेशी खेलाडी र स्वदेशी खेलाडीको राम्रो समझदारी र टिमको व्यवस्थापनले टिम यहाँसम्म आइपुगेको उनले बताए । ‘व्यवस्थापनसँगै विदेशी खेलाडी पनि राम्रो छन् ।
अनुभवी विदेशी खेलाडीहरु खेलाडी हर्मित सिंह, स्याडो, पिटर ट्रयागोले आफ्नो अनुभव सुनाउँछन् । यो बेला यस्तो हुन्छ भन्दै सम्झाउँछन् । यसले गर्दा सबै खेलाडीहरुमा आत्मविश्वास बढेको छ’, उनले भने ।
समूह चरणका ७ खेल जितेर क्वालिफायर्समा पुगे पनि जनकपुर रोयल्समा भने समस्या देखिएको छ । जनकपुरको टिम बारम्बार मैदानमा ढिलो आइपुग्छ । लिग चरणका खेलहरुमा पनि मैदान ढिलो आउँदा समयमा खेल सुरु गर्न सकिएको थिएन ।
जनकपुरका मार्की खेलाडी सोमपाल कामीले टिममा समस्या रहेको कुरामा केही सत्यता रहेको बताएका छन् । जनकपुरका महहत्वपूर्ण खेलाडी विकेट किपर ब्याटर चाड्विक वाल्टनले पछिल्ला खेलहरु खेलेका छैनन् । उनीलाई के भएको भन्नेबारे आधिकारिक जानकारी नआए पनि अनुबन्ध रकम नपाएकै कारण उनलाई मैदानमा नदेखिएको भन्ने आशंका गरिएको छ ।
सोमपालले पनि आइतबार खेल सकेपछि अनुबन्ध रकमको ६५ प्रतिशत रकम मात्र पाएको बताए ।
जनकपुरका लागि वाल्टन एक महत्वपूर्ण खेलाडी रहेको र उनी नखेल्दा अन्य खेलाडीलाई पनि मानसिक रुपमा असर परेको सोमपालले खुलाए ।
‘खेलाडीहरु फ्रि माइन्डसेटमा छैन । हाम्रो म्याच जिताउने एक खेलाडी होटलमा नै छन । त्यसले गर्दा पनि रिजल्ट हामीले सोचेको जस्तो आएको छैन । तर व्यावसायिक खेलाडी भइसकेपछि बाउन्ड्री बाहिर जति पनि समस्या छ, त्यो बिर्सिएर खेल्नु पर्छ’, उनले भने ।
क्वालिफायर्स हारे पनि फाइनल पुग्न अर्को मौका भएकाले अबको खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए । उनले भने, ‘पैसा नपाएर हामीले नराम्रो खेल्यौं भन्ने होइन । पहिला पनि हामीले पैसा त पाएका थिएनौं तर पनि हामीले जित्दै गइरहेका थियौँ । अर्को खेल हाम्रो लागि मौका हो । हामीले तयारी गरिसक्यौं । अब नतिजा हो त्यसैको लागि खेल्ने छौं ।’
लुम्बिनीका कप्तान दिपेन्द्रले अब फाइनल जित्ने योजनामा लाग्ने बताए ।