गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा माघ २ गतेदेखि ४ गतेसम्म माघी महोत्सव हुने

बाणगंगामा माघ २ गतेदेखि ४ गतेसम्म माघी महोत्सव हुने

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगामा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघि महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । उक्त महोत्सव बाणगंगा ९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा माघ २ गतेदेखि ४ गतेसम्म हुने छ ।

थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरीले बताए । उनले थारुहरुको हक, अधिकारी तथा न्यायसंग समेत माघि महोत्सव जोडिएको बताए । थारुहरुले माघि महोत्सवलाई नयाँ बर्षको रुपमा मनाउँदै आएको बताउँदै उनले भने, ‘थारु सम्बत २६४५ लाई विदा गरेर २६४६ लाई स्वागत गर्दैछौं ।’ उनले टिकापुर घटनाको प्रसङ्ग उल्लेख गर्दै सरकार पक्षबाट थारुहरुमाथि अन्याय भएको समेत दाबी गरे ।

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य भोजराज थारुले माघि महोत्सव थारुको वास्तवित पहिचान झल्काउन महत्वपुर्ण सावित हुने दाबी गरे । उनले महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरू रहेको बताए । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी गित, रेकर्ड डान्स समेत हुने उनले जानकारी दिए । महोत्सवमा १० जना थारु समुदायका वृद्धवद्धालाई सम्मान गर्ने कार्यक्रम रक्तदान कार्यक्रम समेत हुने थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य जन्जीर प्रसाद थारुले जानकारी दिए ।

हराउँदै गएको थारु जातीको मौलिकपनलाई संरक्षण गर्न यस महोत्सवले अहम भूमिका निर्वाह गर्ने उनको भनाई छ । थारुहरुको भेषभुषा, सस्कृति झल्किने गरि राखिने स्टल निशुल्क उपलब्ध गराईने उनले जानकारी दिए । महोत्सवमा थारुहरुको सिप, कलासंग जाडिएका सामग्रीहरुको बजारीकरण समेत गरिने उनले बताए ।

थारु कल्याणकारिणी सभा बाणगंगाका अध्यक्ष नाथुराम थारुले महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेत पनि भर्ने बताए । थारु समुदायमा राजनीतिक चेतको आवश्यकता रहेको बताउँदै उनले महोत्सवले थारु समुदायमा नेतृत्व क्षमताको विकास गर्दै आएको दाबी गरे ।

उनले महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गदै भने, ‘नगरपालिका, वडासंगै अन्य सरोकारवाला सबै निकायको साथ मिलेको छ । यस थप उर्जा प्राप्त भएको छ ।’

महोत्सवले पर्यटन विकासलाई टेवा पुग्ने बताउँदै उनले चौथो माघि महोत्सवले यस क्षेत्रका थारुहरुमा रौनक छाउने बताए ।

सम्बन्धित् समाचार